जुम्ला – रोजगारीको सिलसिलामा रसुवा पुगेका ४९ जना भोटेकोशीको बाढीमा बेपत्ता भएपछि पीडित बनेका परिवारले राहत पाएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पातारासी गाउँपालिकाका ४९ घरपरिवारलाई गाउँपालिकाले नगद र राहत सामग्री वितरण गरेको हो।
गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराका अनुसार बाढीपीडित प्रत्येक परिवारलाई तीस हजार रुपैयाँका दरले नगद राहत उपलब्ध गराइएको छ। यसअन्तर्गत कुल चौध लाख सत्तरी हजार रुपैयाँ वितरण भएको हो। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको साझेदारीमा सञ्चालित परियोजनामार्फत उक्त रकम परिचालन गरिएको उहाँले बताउनुभयो।
नगद राहतबाहेक पीडित परिवारलाई थप राहत सामग्री पनि उपलब्ध भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), बेलायतको साउथपोर्टस्थित ग्रेट हिमालयज नेपलिज रेस्टुरेन्ट र लिभरपुल नेपाली समाजको संयुक्त रूपमा पाँच लाख रुपैयाँ बराबरको राहत सामग्री प्राप्त भएको गाउँपालिकाले जनाएको छ।
