काठमाडौँ । इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले इरानमाथि पुनः सैन्य कारबाही थाल्यो भने अमेरिका र मध्यपूर्वमा रहेका त्यसका साझेदार राष्ट्रहरूले ठुलो क्षति खेप्नुपर्ने चेतावनी दिएका छन् ।
संसद्बाट विश्वासको मत पाएपछि आइतबार सञ्चारकर्मीसँगको भेटमा उनले अमेरिकाले इरानविरुद्ध फेरि आक्रमण गर्ने सम्भावना निकै न्यून रहेको आकलन सुनाए । त्यससँगै उनले नागरिकलाई आश्वस्त पार्दै भने, “हामीलाई विश्वास छ कि उनीहरू यस्तो कदम चाल्ने आँट गर्दैनन् । तर, यदि उनीहरूले साहस नै गरे भने अमेरिका आफैँ र सम्पूर्ण क्षेत्रले चरम मूल्य चुकाउनुपर्नेछ ।”
सरकारी टेलिभिजनका अनुसार आइतबारको मतदानमा कुल २७७ मतमध्ये २३७ मत ल्याएर अखलाघी रक्षामन्त्रीमा अनुमोदित भएका हुन् । उनले अब रक्षा तथा सशस्त्र बलको रसद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
उनले अजिज नासिरजादेहको स्थान लिएका हुन् । नासिरजादेहको गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणमा मृत्यु भएको थियो । सोही आक्रमणमा तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित थुप्रै वरिष्ठ सैन्य कमान्डर मारिएको बताइएको छ ।
सैन्य दर्जा नभए पनि अखलाघीले इरानको रक्षा मन्त्रालयमा ४२ वर्ष काम गरेका छन् । सन् २०१३ यता उनी इरानको सरकारी हतियार उत्पादक संस्था रक्षा उद्योग सङ्गठनका प्रमुख थिए । परमाणु तथा ब्यालेस्टिक क्षेप्यास्त्रसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा संयुक्त राष्ट्रसङ्घले सन् २००७ मा उनीमाथि प्रतिबन्ध लगाएको थियो ।
अमेरिका र इजरायलको आक्रमणपछि इरानले प्रतिकारात्मक सैन्य कारबाहीहरू सञ्चालन गरेको थियो । यसैबीच नयाँ रक्षामन्त्रीको ताजा चेतावनीले मध्यपूर्वमा पुनः तनाव चुलिने हो कि भन्ने चिन्ता थपेको छ ।
