वाशिङ्टन । अमेरिकाले बढ्दो डिजेल मूल्य नियन्त्रण गर्न रुससँग इन्धन आपूर्ति सम्झौताको तयारी गरिरहेको छ । सम्झौतामा हस्ताक्षर भएपछि इन्धन अमेरिकी बजारमा पुग्न १५ देखि २० दिन लाग्ने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले जनाएका छन् । यद्यपि हस्ताक्षरको मिति अहिलेसम्म तय भइसकेको छैन ।
रुसी सरकारी सञ्चारमाध्यम भेस्टीसँगको आइतबारको अन्तर्वार्तामा नोभाकले सम्झौताका व्यावसायिक सर्त र दस्ताबेजलाई अन्तिम रूप दिन वार्ता चलिरहेको बताए । उनले व्यावसायिक सर्तमै केन्द्रित रहेर कुराकानी भइरहेको स्पष्ट पारे ।
यसअघि बुधबार क्रेमलिनका अन्तर्राष्ट्रिय आर्थिक सहयोगसम्बन्धी सल्लाहकार किरिल दिमित्रिभले केही दिनभित्रै सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता रुससँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता हुन लागेको घोषणा गरेका थिए । नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि उपभोक्तालाई मूल्यवृद्धिको भारबाट राहत दिन यो पहल गरिएको ठानिएको छ । इरानविरुद्ध अमेरिका र इजरायलको सैन्य द्वन्द्वपछि बढेको इन्धन मूल्यले ट्रम्पको रिपब्लिकन पार्टीलाई चुनावी असर पर्नसक्ने विश्लेषण छ ।
तर धेरै विज्ञहरूले सम्झौताले उपभोक्तालाई ठूलो राहत दिनेमा आशंका व्यक्त गरेका छन् । अमेरिकामा दैनिक करिब ३९ लाख ब्यारेल डिजेल खपत हुने अवस्थामा प्रारम्भिक सम्झौता केवल २२ लाख २० हजार ब्यारेलको छ । यो परिमाण देशको एक दिनको खपतभन्दा पनि कम भएकाले बजार मूल्यमा उल्लेखनीय असर पर्ने सम्भावना सीमित रहेको उनीहरूको भनाइ छ ।
