कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ को इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिन थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघलाई जङ्गलतर्फ फर्काउन हात्ती खटाएको छ। निकुञ्जभित्रको शुक्लाफाँटा पोष्टबाट दुई वटा हात्ती परिचालन गरिएको हो।
निकुञ्जका रेञ्जर विक्रम चौधरीका अनुसार सो क्षेत्रमा चार–पाँच दिनदेखि लगातार पाटेबाघ देखिँदै आएको थियो। बाघको आवतजावत बढेपछि स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो। निगरानीका लागि उक्त क्षेत्रमा क्यामेरा समेत जडान गरिएको थियो। गएराति पनि क्यामेरामा बाघ देखिएपछि हात्ती परिचालन गर्ने निर्णय गरिएको रेञ्जर चौधरीले बताए।
हात्तीका साथै बेल्डाँडी पोष्टबाट निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारी पनि बाघ धपाउने काममा खटिएका छन्। उनीहरूले बाघलाई बस्ती छेउबाट जङ्गलतर्फ धकेल्ने प्रयास गरिरहेका छन्।
पाटेबाघ उखुबारीमा रहेको खबर समेत प्राप्त भएको रेञ्जर चौधरीले जानकारी दिए। सो क्षेत्रमा आवतजावत गर्ने स्थानीयलाई विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन्। बाघ देखिएको क्षेत्रमा निगरानी जारी राखिएको निकुञ्जले जनाएको छ।
