रौतहटको कटहरियामा रहेको इलाका प्रहरी कार्यालय वर्षौंदेखि भवन र जग्गाको अभाव झेलिरहेको छ। राजनीतिक नेतृत्व फेरिए पनि कार्यालयको अवस्था भने उस्तै छ।
यो कार्यालय अहिले पनि ‘ग’ श्रेणीमै सीमित छ। प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको कार्यालयसँग न आफ्नै नाममा पर्याप्त जग्गा छ, न सुविधासम्पन्न भवन। कार्यालयलाई आपराधिक मुद्दा दर्ता गर्ने अधिकारसमेत छैन। सामान्य उजुरीबाहेक कानुनी प्रक्रिया अघि बढाउन स्थानीयले इलाका प्रहरी कार्यालय गरुडा वा जिल्ला प्रहरी कार्यालय गौर धाउनुपर्ने बाध्यता छ।
कार्यालयमा २३ जनाको दरबन्दी भए पनि हाल १० जनामात्र कार्यरत छन्। कार्यालय प्रमुख वरिष्ठ सई जय प्रकाश साहका अनुसार आवश्यक जनशक्ति नहुँदा नियमित गस्ती, बजार सुरक्षा तथा नागरिकको जिउधनको सुरक्षा प्रभावकारी बनाउन कठिनाइ भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार कार्यालयको नाममा जग्गा दर्ता नभएकै कारण भवन निर्माण तथा स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन। कार्यालयले ओगटेको १७ कठ्ठा जग्गामध्ये आठ कठ्ठामा प्रहरी कार्यालयको मोही हक कायम छ भने बाँकी नौ कठ्ठाको जग्गाधनी स्थानीय सन्तलाल साह छन्।
पूर्वमन्त्री प्रभु साहले यो कार्यालयलाई प्रहरी नायब उपरीक्षक तहसम्म पुर्याउने सार्वजनिक प्रतिबद्धता जनाएका थिए। तर वर्षौं बित्दा पनि त्यो प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन। सात दशकभन्दा लामो इतिहास बोकेको यो प्रहरी कार्यालय आज पनि पुरानै भौतिक संरचनामा सञ्चालन भइरहेको छ।
