काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल चार दिनका लागि बिदामा बसेका छन् । उनले प्रधानन्यायाधीश मनोजकुमार शर्माबाट कात्तिक १७ देखि २० गतेसम्मको बिदा स्वीकृत गराएका हुन् ।
कात्तिक २० पछि तिहार बिदा सुरु हुने भएकाले फुयाँल कम्तीमा कात्तिक २७ गतेसम्म अदालतको काममा फर्कने छैनन् । यससँगै उनी झन्डै दश दिनसम्म इजलासबाट टाढा रहने देखिएको छ । बिदाको अवधिमा उनले कुनै इजलासमा सहभागिता जनाउने छैनन् ।
फुयाँल पछिल्लो समय विवादमा तानिएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका इनम सापकोटासँग आफ्नो कुराकानी भएको भनिएको स्क्रिनसट सार्वजनिक भएपछि उनीमाथि प्रश्न उठेको हो ।
उक्त स्क्रिनसट बाहिरिएपछि न्यायालयको साख र न्यायाधीशको आचरणबारे सार्वजनिक चर्चा चुलिएको छ । यस विषयमा सर्वोच्च अदालतबाट थप औपचारिक धारणा आउन बाँकी छ ।
