उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत विकास निर्माणका आयोजना अघि बढाउने बताएका छन् । बुधबार उदयपुरको त्रियुगा नगरपालिका–६, जलजलेस्थित यातायात व्यवस्था सेवा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको लगानी भित्र्याएर ठूला पूर्वाधार तथा सेवामूलक आयोजना सञ्चालन गर्ने सरकारको योजना रहेको जानकारी दिए । त्रियुगाको बरुवा बसपार्क सार्वजनिक–निजी साझेदारी मोडेलमा निर्माण गर्ने प्रस्तावले प्रदेश लगानी प्राधिकरणबाट स्वीकृति पाइसकेको उनले बताए ।
प्रदेश सरकारले एक हजार किलोमिटर सडक बहुवर्षीय योजनामार्फत निर्माण तथा स्तरोन्नति गरिरहेको र सयौँ पक्की तथा झोलुङ्गे पुल निर्माण गरेको दाबी गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको औचित्य कामबाटै पुष्टि हुँदै गएको उल्लेख गरे ।
कोशी प्रदेश सरकारले २०७९ माघ १४ गते ४२ लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण सुरु गरेको उक्त भवन पटक–पटकको बजेट विनियोजनपछि झन्डै एक करोड रुपैयाँको लागतमा सम्पन्न भएको हो । १३ कोठे उक्त भवनबाट अब कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ । यसअघि सदरमुकाम गाईघाटस्थित भाडाको घरबाट कार्यालय सञ्चालन हुँदै आएको थियो ।
