काठमाडौं । सेयर बजारलाई साइबर आक्रमणबाट सुरक्षित राख्न नेपाल धितोपत्र बोर्डले नयाँ सूचना प्रविधि नीति कार्यान्वयनमा ल्याएको छ। बुधबारदेखि लागू भएको नीतिले बजारसँग जोडिएका सबै संस्थाको डिजिटल सुरक्षालाई थप बलियो बनाउने लक्ष्य राखेको छ।
गत असोज ५ गते तथ्याङ्क केन्द्रमा र्यान्समवेयर आक्रमण भएपछि सेयर कारोबार नै रोकिनुपरेको थियो। उक्त घटनाले बजारको प्रविधिगत कमजोरी उजागर गरेको भन्दै बोर्डले सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको हो।
नयाँ नीतिअनुसार कारोबार, राफसाफ तथा केन्द्रीय निक्षेप प्रणालीका लागि अन्तर्राष्ट्रिय अभ्यासअनुसारको विपद् पुनःप्राप्ति संयन्त्र स्थापना गर्नुपर्नेछ। बजार पूर्वाधार र व्यवसायीहरूले व्यवसाय निरन्तरता योजना तथा विपद् पुनरुत्थान योजना पनि तयार गर्नुपर्ने भएको छ।
पूँजी बजारमा काम गर्ने संस्थाहरूले आईएसओ तथा आईईसी २७००१ प्रमाणीकरण लिनुपर्नेछ। हरेक वर्ष सूचना प्रणालीको कमजोरी पहिचान गर्ने परीक्षण र प्रणाली अडिट गराउनुपर्ने व्यवस्था पनि नीतिमा राखिएको छ।
साइबर घटनाको तत्काल जानकारी दिन र त्यसको व्यवस्थापन गर्न एकीकृत प्रतिवेदन पोर्टल स्थापना गरिनेछ। बजारका संस्थाहरूले आक्रमण वा सुरक्षा घटनाको विवरण उक्त पोर्टलमार्फत अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
बाह्य सेवा प्रदायकसँगको सम्झौतामा सेवा स्तर, तथ्याङ्क सुरक्षा, गोपनीयता, लेखापरीक्षणको अधिकार र बहिर्गमन रणनीति समावेश गर्नुपर्नेछ। साथै, बोर्डले साझा तथ्याङ्क केन्द्र स्थापना गर्ने र ई–सेबोनको अवधारणा अघि बढाउने योजना पनि सार्वजनिक गरेको छ।
