काठमाडौं । काठमाडौं उपत्यकामा मालवाहक सवारीसाधनको अव्यवस्थित पार्किङ अन्त्य गर्न चोभारमा ट्रान्सपोर्ट नगरी निर्माण गर्ने तयारी अगाडि बढाइएको छ । पूर्वाधार विकास समितिले सरोकारवालासँग छलफल गरेर सम्भावित स्थलको अवलोकन समेत गरेको छ ।
समितिका सभापति आशिष गजुरेलको संयोजकत्वमा बुधबार स्वयम्भूस्थित नेपाल ढुवानी व्यवसायी महासंघको कार्यालयमा छलफल भएको थियो । छलफलमा समिति सदस्य धनेन्द्र कार्की र प्रकाश गौतम, उद्योग समिति सदस्य अरविन्द साह, सडक बोर्ड सदस्य तथा महासंघका वरिष्ठ उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, महासचिव राज श्रेष्ठ, कोषाध्यक्ष पूर्णप्रसाद रेग्मी र प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारी सहभागी थिए ।
चक्रपथ लगायत उपत्यकाका विभिन्न सडकमा मालवाहक ट्रक जथाभावी पार्किङ गर्दा यातायात व्यवस्थापनमा समस्या देखिँदै आएको छ । त्यसको दीर्घकालीन समाधानका रूपमा चोभारस्थित सुक्खा बन्दरगाह नजिकै रहेको सरकारी जग्गामा ढुवानी पार्क विकास गर्न सकिने सम्भावना हेरिएको हो ।
छलफलकै क्रममा महासंघले ट्रान्सपोर्ट नगरी विकास र ढुवानी व्यवस्थापनबारे तयार पारेको अध्ययन प्रतिवेदन सभापति गजुरेललाई हस्तान्तरण गरेको छ । प्रतिवेदन अध्ययन गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने गजुरेलले बताए ।
मालवाहक सवारीसाधन यात्रुवाहक सवारी जत्तिकै महत्त्वपूर्ण रहेको गजुरेलको भनाइ छ । उनका अनुसार ढुवानी क्षेत्रले देशको आर्थिक गतिविधि, आपूर्ति प्रणाली र व्यापारिक कारोबार चलायमान बनाउन ठूलो भूमिका खेलेको छ । व्यवस्थित पार्किङको स्थायी संरचना बने उपत्यकाको ट्राफिक सहज हुने, सडकको अनावश्यक चाप घट्ने र सर्वसाधारणको आवागमन सजिलो हुने अपेक्षा गरिएको छ ।
