काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको बताएका छन् । मन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी सार्वजनिक गरेका हुन् ।
मन्त्री पोखरेलका अनुसार मन्त्रालयको नेतृत्व सम्हालेको दिनदेखि नै विश्वविद्यालयको गुमेको गरिमा फर्काउने र त्यसका सम्पत्तिको पूर्ण संरक्षण गर्ने संकल्प गरिएको थियो । वर्षौंदेखि ओझेलमा परेको र अव्यवस्थित बनेको त्रिविको जग्गा फिर्ता ल्याउने काम आफ्नो उच्च प्राथमिकतामा रहेको उनले बताए ।
मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै अतिक्रमित तथा अनधिकृत रूपमा प्रयोग भइरहेका जग्गाहरू खाली गराउन निर्देशन दिइएको उनले उल्लेख गरे । सोही निर्देशनअनुसार त्रिवि प्रशासनले पत्राचार गरेको थियो ।
त्रिवि प्रशासनसँगको निरन्तर समन्वय, दृढ इच्छाशक्ति र प्रशासनिक कदमका कारण ६ महिनाको अवधिमै काठमाडौं उपत्यकाभित्र मात्रै त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता गर्न सफल भएको मन्त्री पोखरेलले बताए ।
विश्वविद्यालयको शैक्षिक वातावरण सुधार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न र आगामी दिनमा अत्याधुनिक अनुसन्धान केन्द्र तथा शैक्षिक पूर्वाधार निर्माण गर्न यो जग्गा अब पूर्ण रूपमा त्रिविकै हितमा उपयोग हुने उनले बताए ।
