रौतहट प्रहरीले स्रोत खुल्न नसकेको ४४ लाख ६४ हजार रुपैयाँभन्दा बढी नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो करिब साढे ३ बजे इशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक गरिएको जाँचका क्रममा उक्त रकम भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मठिया महुलिया प्रहरी चौकीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गर्दा ३० लाख रुपैयाँ बरामद भएको थियो। मोटरसाइकल चालक भारतको बिहारस्थित पूर्वी चम्पारणका ३० वर्षीय सनीकुमार जैसवाललाई प्रहरीले त्यहीँ पक्राउ गरेको थियो।
प्रारम्भिक सोधपुछमा जैसवालले उक्त रकम गौर नगरपालिका–१ स्थित न्यू तराई ट्रेडर्सका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई दिन ल्याएको बताएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पसलमा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ फेला परेको थियो। प्रहरीले पसल सञ्चालक कमरुललाई समेत नियन्त्रणमा लिएको छ।
दुवै स्थानबाट बरामद भएको कुल रकम ४४ लाख ६४ हजार ६०५ रुपैयाँ पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए। बरामद रकमको स्रोत र घटनाबारे दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
