तिहारको अवसरमा पटका तथा आतसबाजी नगर्न नेपाल प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ। पटकाजन्य पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले यस्तो अनुरोध गरेको हो।
पटका र विस्फोटक पदार्थ पड्काउँदा आगलागी हुने, मानिस घाइते हुने, अङ्गभङ्ग हुने, घर तथा सम्पत्ति नष्ट हुने र वातावरण प्रदूषित हुने जोखिम रहेकाले चाडपर्वको बेला विशेष सावधानी अपनाउन प्रहरीले भनेको छ।
विशेष गरी बालबालिकाको हातमा पटका वा अन्य प्रज्वलनशील पदार्थ नदिन र उनीहरूलाई त्यस्ता वस्तुबाट टाढा राख्न प्रहरीले अभिभावकलाई अनुरोध गरेको छ। अभिभावकले यस विषयमा विशेष निगरानी र सचेतना अपनाउनुपर्ने प्रहरीको भनाइ छ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले चाडपर्वको समयमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न तथा कुनै पनि किसिमका अवाञ्छित घटना हुन नदिन प्रहरी परिचालन भइरहेको जानकारी दिए। उनले चाडपर्वका बेला हुने भीडभाड र आवागमनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई थप बलियो बनाइएको बताए।
प्रहरीले तिहारलाई सुरक्षित, शान्त र उल्लासमय बनाउन सबैको सहयोग आवश्यक रहेको बताएको छ। चाडपर्वमा रमाइलो गर्दा आफू र अरूको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने प्रहरीको सुझाव छ।
