काठमाडौं — विद्यालय शिक्षाको एकीकृत सूचना प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको भेटिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ। मन्त्रीस्तरीय निर्णयबाट बिहीबार पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको हो।
अनौपचारिक अध्ययनमा इ–एमआईएस प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थीका विवरण दोहोरिएका देखिएका छन्। दोहोरो प्रविष्टिकै आधारमा राज्य कोषबाट जाने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोसाक र पाठ्यपुस्तकजस्ता सेवा–सुविधामा दुरुपयोग भएको हुन सक्ने मन्त्रालयको आशंका छ।
समितिको संयोजकमा मन्त्रालयका खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटा रहेका छन्। शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य छन् भने विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मी सदस्य–सचिवको जिम्मेवारीमा छन्।
समितिले यति ठूलो संख्यामा विवरण दोहोरिनु प्राविधिक कमजोरी हो वा नियतवश गरिएको बदमासी भन्नेबारे विस्तृत अध्ययन गर्नेछ। गलत तथ्याङ्क पेस गरी राज्य कोषको दुरुपयोग गर्ने विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयसमक्ष सिफारिस गर्ने कार्यादेश समितिलाई दिइएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विषयलाई गम्भीरताका साथ हेरिएको बताउँदै दोहोरो विवरण भरेर रकम दुरुपयोग भएको देखिएको र थप छानबिनपछि दोषीलाई कारबाही हुने बताए।
