नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा लुम्बिनी लायन्सले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहेको छ। बिहीबार कीर्तिपुरमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनीले यस सिजनमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। लिगको लगभग आधा चरण सकिँदा लुम्बिनी एक्लो अपराजित टोली हो।
खेलेका तीन खेलमा जित हात पारेको लुम्बिनीको एउटा खेल वर्षाका कारण रद्द भएको थियो। तीन जित र एक अंक बाँडफाँटसँगै सात अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ र प्लेअफको ढोका नजिक पुगेको छ।
बिहीबारको खेलमा लुम्बिनीले पहिले ब्याटिङ गर्दै १४९ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ३१ बलमा ३८ रनको योगदान दिए भने निरोशन डिकवेलाले २७ रन बनाए। आसिफ शेख र दिलिप नाथले समान २१ रन थपे। जवाफमा जनकपुर १३३ रनमै समेटियो। एक समय ६५ रनमा सात विकेट गुमाएको जनकपुरका लागि कप्तान हर्मीत सिंहले ३३ र आदित्य महताले अविजित ३० रन बनाए पनि जितसम्म पुग्न सकेनन्।
लुम्बिनीको यो जितले एउटा विशेष कीर्तिमान पनि कायम गरेको छ। दोस्रो संस्करणको चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग हारेपछि लुम्बिनीले त्यसयता लगातार १० खेलमा हारको सामना गरेको छैन। त्यसयता लुम्बिनीले उपाधिसम्मको यात्रा तय गरेको थियो।
प्रशिक्षक टिनु योहान्नानले टिमको गति र ड्रेसिङ रुमको आत्मविश्वास नै सफलताको मुख्य आधार भएको बताएका छन्। उनका अनुसार अनुभवी खेलाडीहरूको उपस्थितिले कठिन अवस्थामा पनि टिमलाई सम्हाल्न सहयोग पुर्याएको छ।
