राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने कार्यतालिका हेरफेर गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले स्वीकृत सक्रिय सदस्यको सूची कात्तिक ३० गते सार्वजनिक गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार सक्रिय सदस्यतामा दाबी विरोध गर्न र नाम सच्याउन मंसिर १ गतेसम्मको समय दिइएको छ। त्यसपछि मंसिर ४ देखि १० गतेभित्र पार्टीको विधान र निर्वाचन निर्देशिकाअनुसार योग्य प्रदेशसभा निर्वाचन क्षेत्रका सक्रिय सदस्यहरूमध्येबाट महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ।
छनोट भएका प्रतिनिधिको तस्बिरसहितको नामावली मंसिर १२ गतेभित्र केन्द्रीय सचिवालय र केन्द्रीय निर्वाचन समितिमा पठाउनुपर्ने व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए।
यसैबीच, सक्रिय सदस्यको नयाँ दर्ता बुधबार रातिदेखि बन्द भइसकेको छ। दर्ता भएका सदस्यले तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाउनुपर्नेछ। विवरणमा तस्बिर छुटेको भए सोही मितिभित्र उपलब्ध गराउनुपर्ने र नगरेमा सक्रिय सदस्यताको आवेदन अस्वीकृत हुने निर्वाचन समितिले जनाएको छ। राप्रपाको महाधिवेशन मंसिर २६ देखि २९ सम्म काठमाडौँमा तय भएको छ।
