सङ्खुवासभाको खाँदबारीमा जारी गोल्डकप फुटबल प्रतियोगितामा सुनसरीको न्यू स्टार क्लब फाइनलमा पुगेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा काठमाडौँको प्लानिङ ब्वाइजलाई ट्राइब्रेकरमा ६–५ ले पराजित गर्दै न्यू स्टारले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो।
खाँदबारी नगरपालिका–३ मानेभञ्याङस्थित महेन्द्र माविको मैदानमा भएको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएको थियो। खेलको २६औँ मिनेटमा न्यू स्टारका सञ्जय श्रेष्ठले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर ६४औँ मिनेटमा प्लानिङ ब्वाइजका अनिष परियारले बराबरी गोल फर्काएपछि खेल ट्राइब्रेकरतर्फ धकेलिएको थियो।
निर्धारित समयमा दुवै टोलीले जितका लागि निरन्तर प्रयास गरे पनि थप गोल हुन सकेन। प्लानिङ ब्वाइजले पटक–पटक कर्नरको मौका पाए पनि त्यसलाई गोलमा बदल्न नसक्दा अग्रता लिन सकेन। अन्ततः ट्राइब्रेकरमा न्यू स्टारले बाजी मार्यो।
प्रतियोगिताको दोस्रो सेमिफाइनल बिहीबार सङ्खुवासभाकै लोहरुङ क्लब र सेकाहा सामुदायिक क्लबबीच हुनेछ। क्वाटरफाइनलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई हराएको थियो भने सेकाहाले झापा–११ लाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। यसरी घरेलु जिल्लाका दुईमध्ये एउटा टोली फाइनलमा पुग्ने पक्का भएको छ।
एडभान्स क्लब मानेभञ्याङको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ र यसमा आठ टोली सहभागी छन्। विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ दिइनेछ भने सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
