काठमाडौं — तोकिएको समयभित्र काम पूरा हुन नसकेर अलपत्र परेका बाँके र बर्दियाका तीन विकास आयोजनाको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पूर्वाधार विकास मन्त्रालय मातहतको नेपालगञ्ज डिभिजनबाट सञ्चालित ती आयोजनाको काम पटकपटक म्याद थप्दा पनि अघि बढ्न नसकेपछि सम्झौता तोड्ने निर्णय भएको मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।
ठेक्का अन्त्य गरिएका आयोजनामा रत्न राजमार्गअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडक मर्मत आयोजना छ। गत आर्थिक वर्षभित्रै सकिनुपर्ने उक्त मर्मत कार्य तोकिएको समयमा पूरा हुन सकेको थिएन।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ भित्र सम्पन्न गर्नुपर्ने बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार आयोजना र ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजनाको ठेक्का पनि तोडिएको छ।
मन्त्री लम्सालका अनुसार म्याद थप्दै जाँदा पनि निर्माणले गति लिन नसकेपछि सम्झौता अन्त्य गर्ने निर्णय गरिएको हो। उनले प्रगतिको सम्भावना नदेखिएका देशभरका रुग्ण आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाउन मन्त्रालय मातहतका निकायलाई निर्देशन दिइसकेको बताए।
अलपत्र आयोजनाले विकास निर्माण प्रभावित भइरहेका बेला सरकारले काम अघि नबढेका ठेक्का अन्त्य गरी नयाँ प्रक्रियाबाट काम अगाडि बढाउने नीति लिएको मन्त्रीको भनाइ छ।
