काठमाडौं । अध्यागमन विभागले अनुमतिबिना पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोजेको आरोपमा एउटा ट्रेकिङ एजेन्सीलाई जरिबाना तिराएको छ भने संलग्न गाइडमाथि छानबिन अघि बढाएको छ ।
विभागका अनुसार बेल्जियमका दुई पर्यटकलाई पदयात्रा अनुमतिबिना डोल्पाको डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजिएको थियो । सो क्रममा स्थानीय प्रशासनले दिएको निर्देशनसमेत पालना नगरिएको विभागले जनाएको छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय डोल्पाले पत्र लेखेर विभागलाई जानकारी गराएको थियो । त्यसपछि विभागले संलग्न गरिमा भोयज ट्राभल टुर्स एन्ड ट्रेक्स प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
सोही घटनामा संलग्न गाइड अस्मिर भण्डारीको व्यावसायिक आचरण र पथप्रदर्शक इजाजतपत्रसँग सम्बन्धित विषयमा छानबिन गरी कानुनबमोजिम कारबाही गर्न विभागले प्रदेश मन्त्रालयलाई पत्र पठाएको छ ।
विभागले सरोकारवालालाई प्रचलित कानुनअनुसार मात्र गतिविधि गर्न र गराउन सचेत गराएको छ । अनुमतिबिना निषेधित क्षेत्रमा प्रवेश गराउने कार्यमाथि विभागले कडाइ गर्ने सङ्केत गरेको छ ।
