धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद आशिका तामाङले थाँक्रे वडा नम्बर ३ का वडाध्यक्ष विजय तामाङमाथि अभद्र व्यवहार गरेकी छन्। बुधबार स्थानीय बाटो अनुगमनका क्रममा वडा कार्यालय पुगेकी सांसद तामाङले बाटो सफा नगरेको र कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर नराखेको विषयमा वडाध्यक्षमाथि थर्काएकी हुन्।
दुईबिच चर्काचर्की भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। क्यामरा लिएर गएकी तामाङले कार्यालयभित्र प्रवेश गर्ने बित्तिकै बाटो किन सफा नगरेको भनेर थर्काएको भिडियोमा सुनिन्छ। जवाफमा वडाध्यक्ष विजयले आफ्नै नेतृत्वमा बाटो सफा गरेको बताएका छन्।
घटनाबारे वडाध्यक्ष विजयले सांसद तामाङ बाहिरदेखि नै रिसाएर आएको र प्रधानमन्त्रीको तस्बिर नराखेको विषयमा बारम्बार टर्चर दिएको बताए। उनले तस्बिर नराख्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै अब राख्ने बताएका थिए। तर त्यसपछि पनि सांसदले थर्काउन नरोकिएको उनको भनाइ छ।
वडाध्यक्षले सांसद निर्वाचित भएको छ महिनासम्म वडाका समस्या बुझ्न नआएको र आफूले गरेको कामको मूल्यांकन स्थानीय जनतासँग गर्न आग्रह गरेका छन्। उनले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई असभ्य व्यवहार गरेको गुनासो गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित तामाङले यसअघि भदौ १४ गते भोटेकोशी बाढी पीडितलाई राहत वितरण नगरेको विषयमा धादिङकै गल्छी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष दीपक कार्कीलाई पनि थर्काएकी थिइन्। त्यसअघि भदौ ५ गते काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन नगरेको विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसँग पनि उनको चर्काचर्की भएको थियो।
