काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले तिहार र छठ पर्वका बेला देशभर विद्युत् आपूर्ति निर्बाध राख्न मातहतका निकायलाई निर्देशन दिएका छन् । चाडपर्वको समयमा विद्युत् खपत बढ्ने भएकाले माग र आपूर्तिको पूर्वानुमान गरेर आवश्यक तयारी गर्न उनले नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूलाई भनेका हुन् ।
मन्त्री श्रेष्ठले बुधबार प्राधिकरण सञ्चालक समितिको बैठकअघि कार्यकारी निर्देशक तथा उच्च कर्मचारीहरूलाई चाडपर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउने गरी व्यवस्थापन मिलाउन निर्देशन दिए । मागअनुसार पर्याप्त विद्युत् उपलब्ध हुने र कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिने व्यवस्था गर्न उनले स्पष्ट रूपमा भने ।
चाडपर्व सकिएलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पनि पूर्वतयारी र योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । सुख्खायाममा आपूर्ति भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावनासमेत विश्लेषण गर्न उनले प्राधिकरणलाई भने ।
सुख्खायाममा हुन सक्ने माग र उपलब्ध विद्युत्को अवस्थाको यथार्थ मूल्याङ्कन गरेर आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित आगामी बैठकमा विस्तृत कार्ययोजना र प्रस्तुतीकरण पेस गर्न पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।
