नेपाल टेलिकमले सहुलियत दरमा ल्याएको फाइबर इन्टरनेट सेवाप्रति ग्राहकको आकर्षण बढेको छ। सेवा सुरु भएको १८ दिनमै ११ हजार ७६४ नयाँ ग्राहक जोडिएका छन्। असोज ३० गतेदेखि कात्तिक १६ गतेसम्मको अवधिमा यति धेरै ग्राहक जोडिएका हुन्।
सरकारको डिजिटल नेपाल अभियानअन्तर्गत सर्वसाधारणको इन्टरनेट पहुँच सहज र सुलभ बनाउने उद्देश्यले सहुलियत प्याकेज ल्याइएको हो। इन्टरनेट महँगो भएको गुनासो आएपछि सरकारले मूल्य घटाउने विषयमा गृहकार्य गर्दै आएको थियो। चाडपर्वलाई समेत लक्षित गरी चालु आर्थिक वर्षमा यो प्याकेज सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।
नयाँ ग्राहकमध्ये ४० प्रतिशतले सहुलियत दरको प्याकेज रोजेका छन्। कम क्षमताको इन्टरनेट चाहिने तर महँगो प्याकेज लिनुपर्ने बाध्यतामा रहेका ग्राहकलाई यसले राहत दिएको देखिएको छ। गत वर्ष कात्तिक महिनाभरिमा जम्मा २ हजार ९८१ ग्राहकले मात्र फाइबर इन्टरनेट लिएका थिए। त्यसको तुलनामा यस वर्षको वृद्धि उल्लेख्य छ।
पछिल्लो तीन सातामा इन्टरनेट जडानका लागि टेलिकमको अनलाइन सेवा र कल सेन्टरमार्फत २८ हजार १९२ जनाले नाम टिपाएका छन्। सहुलियत दरले सेवाप्रति चासो र माग बढाएको यस तथ्यांकले देखाएको छ।
यसैबीच टेलिकमले चालु आर्थिक वर्षभित्र दुर्गम क्षेत्रसहित मुलुकका १ हजार ६०० स्थानमा फोरजी-एलटीई सेवा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाएर बोलपत्रसमेत आह्वान गरिसकेको छ। सरकारले दूरसञ्चार सेवालाई गुणस्तरीय, विश्वसनीय, प्रतिस्पर्धी र सर्वसुलभ बनाउने विषयलाई प्राथमिकतामा राखेको छ र चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य लिएको छ।
