अमेरिकाको मेरिल्यान्ड राज्यमा नेपाली समुदायका लागि गर्वको क्षण आएको छ। डेमोक्रेटिक पार्टीका उम्मेदवार डा. ह्यारी भण्डारी मेरिल्यान्ड हाउस अफ डेलिगेट्समा तेस्रो पटक निर्वाचित भएका छन्। उनले डिस्ट्रिक्ट ८ बाट जित हासिल गरेका हुन्।
भण्डारी सन् २०१८ मा पहिलोपटक उक्त सदनमा निर्वाचित भएका थिए। त्यतिबेला उनले १२ वर्षदेखि रिपब्लिकन पार्टीको कब्जामा रहेको सिट जितेर चर्चा बटुलेका थिए। अमेरिकामा कानुन निर्माताका रूपमा निर्वाचित हुने पहिलो नेपाली मूलका व्यक्ति आफू भएको उनको भनाइ छ। यसअघिको निर्वाचनमा पनि उनले सबैभन्दा धेरै मत प्राप्त गरेका थिए।
जितपछि भण्डारीले मेरिल्यान्डका बासिन्दाले देखाएको विश्वास नै आफ्नो सफलताको कारण भएको बताए। उनले आफूलाई विश्वास, साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
मेरिल्यान्डमा बसोबास गर्ने नेपाली समुदायले उनको जितलाई समुदायकै उपलब्धिका रूपमा लिएको छ। अमेरिकी राजनीतिमा नेपाली मूलका व्यक्तिको यस्तो निरन्तर सफलताले आगामी पुस्तालाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।
