कतारमा आगामी नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि समूह विभाजन सार्वजनिक भएको छ। नेपाल समूह ‘बी’ मा परेको छ, जहाँ भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई पनि छन्। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन्।
यस प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आ–आफ्ना ‘ए’ टोली मैदानमा उतार्नेछन् भने नेपाल, यूएई र हङकङले राष्ट्रिय सिनियर टोली खेलाउन पाउनेछन्। नेपालले समूह चरणमा नोभेम्बर २० मा भारत ‘ए’ सँग पहिलो खेल खेल्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग भिड्नेछ।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल नोभेम्बर २९ मा हुनेछ। नेपालले यो प्रतियोगितामा स्थान बनाएको आधार एसीसी प्रिमियर कपको उपाधि हो। प्रिमियर कप जितेर नेपाल राइजिङ स्टार्स एसिया कपसँगै एसिया कपका लागि पनि छनोट भएको थियो। प्रिमियर कपमा दोस्रो र तेस्रो भएका यूएई र हङकङले पनि यस प्रतियोगितामा ठाउँ बनाएका छन्।
तर तालिकाले नेपाललाई एउटा अप्ठ्यारोमा पारेको छ। नेपाल प्रिमियर लिग नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेसम्म चल्नेछ, र भारत ‘ए’ सँगको खेलकै दिन एनपीएल जारी रहनेछ। त्यसैले नेपालले यस प्रतियोगिताका लागि कस्तो टोली घोषणा गर्छ भन्ने केही दिनभित्रै स्पष्ट हुनेछ।
