सुर्खेत — कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र गन्तव्य स्तरोन्नतिका लागि १२ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ छुट्याएको छ। कर्णाली प्रदेश पर्यटन गुरुयोजना (२०७७/७८–२०८६/८७) अन्तर्गतका सातवटा रणनीतिक कार्यक्रममा उक्त रकम विनियोजन गरिएको हो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विवरणअनुसार पर्यटन उत्पादन विकासमा चार अर्ब ३२ करोड १५ लाख, पूर्वाधार विकासमा दुई अर्ब ९८ करोड १० लाख, सामुदायिक सहभागिता र स्थानीय पर्यटनबाट लाभ बढाउने कार्यक्रममा एक अर्ब २२ करोड ४० लाख, सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षणमा एक अर्ब सात करोड ४० लाख, लगानी प्रवद्र्धन तथा व्यवसाय विकासमा एक अर्ब एक करोड ८५ लाख, नीति, संस्थागत संरचना तथा मानव संसाधन विकासमा ८७ करोड १४ लाख र गन्तव्य बजार व्यवस्थापन तथा प्रवद्र्धनमा ८२ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ।
मन्त्रालयले कर्णालीका हिमाली र पहाडी क्षेत्र जोड्ने पाँचवटा प्रमुख पदयात्रामार्ग पहिचान गरेको छ। ग्रेट हिमालय ट्रेलका उपल्लो, मध्य र तल्लो कर्णाली खण्ड तथा तालदेखि तालसम्मका उपल्लो र तल्लो पदयात्रामार्ग यसमा समेटिएका छन्। यी मार्गले रारा, फोक्सुण्डो, डोल्पा, मुगु र हुम्लाका दुर्गम बस्ती तथा पर्यटकीय क्षेत्रलाई एउटै सञ्जालमा जोड्ने लक्ष्य राखिएको छ।
यसैबीच मुगुको रारा तालमा पर्यटकीय पूर्वाधार निर्माणको आयोजना भने सुस्त छ। ४५ करोड २९ लाख १० हजार रुपैयाँको उक्त आयोजनामा २०७९ असार २४ गते सम्झौता भए पनि चार वर्षमा भौतिक प्रगति २० प्रतिशत मात्र पुगेको छ। निर्माण व्यवसायीलाई ३२ प्रतिशत रकम भुक्तानी भइसकेको छ तर काम रोकिएको छ। रारा ताल वरिपरि १५ किलोमिटर पदमार्ग बनाउने लक्ष्यमा करिब ११ किलोमिटरमा ढुङ्गा सोलिङ भएको छ र म्याद थपको प्रक्रिया अघि बढाइएको छ। डोल्पाको फोक्सुण्डो ताल क्षेत्रमा २१ करोड १२ लाख ४४ हजार रुपैयाँको पूर्वाधार आयोजना अघि बढेको छ, जुन २०८४ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले हिमाली जिल्लामा पुग्ने पर्यटकको तथ्यांक संकलन र सुरक्षा व्यवस्थापनमा चुनौती रहेको बताइन्। पर्यटक प्रहरी परिचालन, जोखिमयुक्त पदमार्गमा सूचना तथा सुरक्षा व्यवस्था र आपत्कालीन उद्धार प्रणालीलाई प्रभावकारी बनाइने उनको भनाइ छ।
