तिहारको रौनकसँगै काठमाडौं उपत्यकाका बजारमा किनमेलको चहलपहल बढेको छ, तर यसपटक भाइमसला किन्न पुगेका उपभोक्ता मूल्य सुनेरै झस्किएका छन्। चाडको बेला सुक्खा फलफूलको माग ह्वात्तै बढ्छ, तर मूल्य पनि त्यही अनुपातमा उकालो लागेको छ।
नयाँ बानेश्वरका एक होलसेल व्यापारीका अनुसार गत वर्ष प्रतिकिलो दुई हजार रुपैयाँमा पाइने पिस्ता यस वर्ष चार हजार रुपैयाँभन्दा माथि पुगेको छ। त्यस्तै बदाम एक हजार पाँच सयदेखि एक हजार छ सयबाट बढेर एक हजार आठ सय रुपैयाँ पुगेको छ भने ओखर पाँच सयबाट छ सयदेखि छ सय पचास रुपैयाँसम्म पुगेको छ। सुकमेल सात हजारबाट आठ हजार रुपैयाँसम्म पुगेको छ। काजु दुई हजारदेखि दुई हजार दुई सय, मखना दुई हजार, नरिवल एक हजार र किसमिस पाँच सयदेखि छ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
व्यापारीहरूले मूल्यवृद्धिको कारण आयातमार्गमा देखिएको अवरोध र अन्तर्राष्ट्रिय बजारको महँगीलाई देखाएका छन्। चीनबाट सामान आउन नसकेपछि अहिले दिल्लीको खारी बावलीबाट सामान ल्याइरहेको उनीहरूको भनाइ छ। होलसेलमै महँगो भएपछि खुद्रा बजारमा मूल्य झनै चर्को पर्ने गरेको छ।
अर्कोतर्फ बजार अनुगमन गर्ने जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने अहिलेसम्म भाइमसलाको अनुगमन नै नगरेको स्वीकारेको छ। विभागका सूचना अधिकारीले विभागको ध्यान अहिले खानेतेल र मिठाईमा मात्र केन्द्रित रहेको बताउँदै बिहीबारदेखि भाइमसलामा पनि अनुगमन टोली खटिने जानकारी दिएका छन्।
भन्सार विभागको तथ्यांकले भने असोज महिनामा मात्रै ९१ करोड ८५ लाख ५२ हजार रुपैयाँ बराबरको ५६ लाख ७२ हजार ९ सय २१ किलो भाइमसला नेपाल भित्रिएको देखाउँछ। त्यसमा ओखर ८ लाख ५७ हजार ७ सय ६८ किलो र नरिवल ४४ लाख ६७ हजार २ सय ६५ किलो भित्रिएको छ। आपूर्ति पर्याप्त देखिँदा पनि बजारमा मूल्य घटेको छैन, जसले उपभोक्ता महँगो भाउमै तिहारको किनमेल गर्न बाध्य भएका छन्।
