नेपाल प्रिमियर लिगको जारी तेस्रो संस्करणका बाँकी खेलका लागि पोखरा एभेन्जर्सले दुई विदेशी खेलाडी भित्र्याएको छ। टिमले क्यानडाका ओपनर युवराज सम्रा र युएईका लेगस्पिनर मारुफ मर्चेन्टलाई अनुबन्ध गरेको हो। दुवै एसोसिएट राष्ट्रका खेलाडी हुन्।
सम्रा चर्चामा आएको नाम हो। उनले टी–२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध शतक प्रहार गरेका थिए। त्यो खेलमा उनले ६५ बलमा ११ चौका र ६ छक्कासहित ११० रन बनाएका थिए। विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा ब्याटरको कीर्तिमान पनि उनकै नाममा छ।
२० वर्षीय सम्राले क्यानडाका लागि अहिलेसम्म १९ एकदिवसीय र २० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा एक शतक र तीन अर्धशतकसहित ५८६ रन छ। ओपनिङमा आक्रामक ब्याटिङ गर्ने उनको शैलीले पोखराको शीर्ष क्रमलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
अर्का नयाँ खेलाडी मर्चेन्ट २१ वर्षका छन्। उनी लेगस्पिन बलिङ गर्छन् र केही दिनअघि हङकङ सिक्सेसमा युएईको टोलीबाट खेलेका थिए।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यसअघि बंगलादेशका शाकिब अल हसन, मेहदी हसन र मोहम्मद सैफुद्दिन तथा श्रीलंकाका चमिका करुणारत्ने, धनन्जय लक्षण र सदिरा समराविक्रमालाई पनि टिममा लिएको थियो।
पोखराले शुक्रबार चितवन राइनोजसँग आफ्नो चौथो खेल खेल्दै छ। नयाँ अनुबन्धले टिमको अभियानमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।
