अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हालैको चुनावमा रिपब्लिकन पार्टीले बेहोरेको पराजयको मुख्य कारण इरानसँगको युद्ध भएको बताएका छन्।
सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा सार्वजनिक गर्दै उनले हारको एउटै कारण युद्ध भएको दाबी गरे। राष्ट्रपतिले पनि यही कुरा स्वीकार गरिसकेको उनको भनाइ छ। आगामी छ वर्षसम्म सिनेट गुमाउनु युद्धका लागि उपयुक्त थियो भन्ने तर्क गर्नेहरूले गरे पनि हारको कारण सबैलाई थाहा भएको उनले लेखेका छन्।
भान्सले इजरायलको नेतान्याहु सरकारले इरान मामिलामा सबै कुरा गलत ढंगले अनुमान गरेको आरोप लगाउँदै इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक बोझ बनेको बताए।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारसँगको कुराकानीमा भान्सको विश्लेषण धेरै हदसम्म सत्य भएको स्वीकार गरे। तर युद्ध आवश्यक भएको अडान भने उनले दोहोर्याए। इरानलाई परमाणु हतियार बनाउन दिन नसकिने भएकाले अरू कुनै विकल्प नभएको उनको भनाइ छ। युद्ध जुनसुकै बेला अन्त्य गर्न सकिने भए पनि त्यो सही तरिकाले हुनुपर्ने ट्रम्पले बताए।
चुनावी नतिजापछि इरानले यसलाई ट्रम्पको राजनीतिक हारका रूपमा उत्सव मनाइरहेको छ भने ट्रम्पका निकटस्थ सल्लाहकारहरू उनको आगामी कदमबारे अन्योलमा परेका छन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले ट्रम्पको चुनावी हारलाई इरानको रणनीतिक र राजनीतिक विजयका रूपमा व्याख्या गरेका छन्। एक्समा उनले इरानी जनताले ट्रम्पलाई युद्धको मैदान, हर्मुज र वासिङ्टनमा राजनीतिक रूपमै रणनीतिक पराजय चखाएको लेखेका छन्।
इन्टरनेसनल क्राइसिस ग्रुपका मध्यपूर्व उपनिर्देशक अली वाएजका अनुसार तेहरानले ट्रम्पको राजनीतिक कमजोरीलाई सैन्य कमजोरी ठानेर उत्साह देखाए त्यसले ट्रम्पलाई पुनः युद्धतर्फ धकेल्न सक्छ।
यसैबीच कतारी मध्यस्थकर्ताहरूले अमेरिका र इरानबीच सम्झौताको खाका तयार गर्न प्रयास गरिरहेका छन् भने अमेरिकी सेनाले इरानमा पुनः ठूलो सैन्य कारबाहीका लागि आफ्ना अन्तिम तयारीहरू पूरा गरिरहेको अधिकारीहरूले जनाएका छन्।
