सरकारी कार्यसञ्चालन कोषको खर्चमा देखिएको बेरुजुको दर सामान्य बजेटको तुलनामा आठ गुणा बढी रहेको आन्तरिक लेखा परीक्षणले देखाएको छ। कोषबाट भएको ६३ अर्ब रुपैयाँ खर्चमा करिब ३ अर्ब रुपैयाँ बेरुजु कायम भएको छ।
महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ को आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार सो आर्थिक वर्षमा संघीय सरकारको कुल बेरुजु १० अर्ब ६८ करोड १५ लाख ८० हजार ८ सय ९९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब ४४ करोड १५ लाख रुपैयाँले बढी हो।
कुल बेरुजुमध्ये असुलउपर गर्नुपर्ने ३ अर्ब ४२ करोड ६६ लाख, नियमित गर्नुपर्ने १ अर्ब ९८ करोड ३३ लाख र म्याद नाघेको पेस्की ५ अर्ब २७ करोड रुपैयाँ रहेको कार्यालयले जनाएको छ। परीक्षणमा विनियोजन, राजस्व, धरौटी तथा कार्यसञ्चालन कोषको कारोबार समेटिएको थियो।
गत आर्थिक वर्ष सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरेको थियो, जसमध्ये १५ खर्ब ६१ अर्ब ३९ करोड रुपैयाँ निकासा तथा खर्च भएको थियो। प्रतिवेदन कात्तिक मसान्तसम्म अर्थमन्त्रीसमक्ष पेस गर्नुपर्ने प्रावधान छ।
