नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि पदबाट हटाइएको दाबी गरेका छन्। ललितपुर क्षेत्र नम्बर १ ले बज्रबाराहीमा बिहीबार आयोजना गरेको सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै उनले सरकारले कानुन मिचेर मानिस पक्राउ गर्न दिएको दबाब कार्कीले अस्वीकार गरेपछि उनलाई हटाइएको बताए। आफूलाई मन नपरेका व्यक्ति, राजनीतिक नेता, व्यवसायी र कर्मचारीमाथि कानुनी प्रक्रिया नअपनाई धरपकड गर्न खोजिएको र त्यसका लागि प्रहरी नेतृत्वलाई प्रयोग गर्न खोजिएको उनको आरोप छ। सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु लोकतन्त्र र विधिको शासनका लागि गम्भीर विषय भएको उनले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारका गतिविधि थप विवादित बन्दै गएको दाबी पनि उनले गरे। पछिल्लो समय व्यवसायी, राजनीतिक दलका नेता र कर्मचारीमाथि व्यापक धरपकड भइरहेको आरोप लगाउँदै उनले राज्य शक्तिको दुरुपयोग रोकिनुपर्ने बताए। सरकारले सञ्चार क्षेत्रमाथि पनि दबाब र हस्तक्षेप बढाएको उनको आरोप छ। केही दिनअघि सञ्चारगृहमा प्रहरी पठाएर सञ्चारकर्मीलाई गिरफ्तार गरिएको घटनाको विरोध गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण हुनुपर्ने बताए। न्यायालयमाथि पनि सरकारले आफ्ना निकट व्यक्तिहरू प्रयोग गरेर प्रभाव पार्न खोजिरहेको आरोप उनले लगाए। राज्यका प्रमुख अंगलाई नियन्त्रणमा लिने प्रयास लोकतन्त्रका लागि गम्भीर चुनौती हुने उनको भनाइ छ। देशलाई सही बाटोमा फर्काउन लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका पक्षमा रहेका सबै सचेत नागरिक एकजुट हुनुपर्ने उनले बताए। पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाले कांग्रेस चुप लागेर नबस्ने चेतावनी पनि उनले दिए।
गैरकानुनी पक्राउ नमानेपछि कार्की हटाइए : कांग्रेस महामन्त्री राणाको दाबी
