बाजुराको हिमाली बस्तीमा यसपालि फेसनको र्याम्प स्थानीय उत्पादनको पहिचान बन्न पुगेको छ। ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे–२०२६’ नाम दिइएको कार्यक्रम गत ४ नोभेम्बरमा सम्पन्न भएको आयोजक थ्रेड्स अफ द हिमालयन फाउन्डेसनले जनाएको छ।
कार्यक्रमको केन्द्रमा हिमाली क्षेत्रको भेडापालन र स्थानीय ऊन थियो। आयोजकका अनुसार हिमालमा उत्पादन हुने ऊन र त्यसबाट बन्ने हस्तकलाका सम्भावनालाई देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य राखिएको छ। फेसनलाई जलवायु सचेतना, सांस्कृतिक संरक्षण, ग्रामीण सशक्तीकरण र दिगो पर्यटनसँग एउटै मञ्चमा जोडिएको थियो।
फाउन्डेसनकी अध्यक्ष रमिला नेम्कुल श्रेष्ठले कार्यक्रमले किसान, स्थानीय कारीगर, महिला उद्यमी र फेसन उद्योगबीच दीर्घकालीन सम्बन्ध बनाउने अपेक्षा व्यक्त गरिन्। उनका अनुसार यस्ता कार्यक्रमले लघु उद्यमशीलतालाई बलियो बनाउनुका साथै स्थानीय सीपलाई बजारसँग जोड्न मद्दत गर्छ।
जलवायु परिवर्तनको असर भोगिरहेका हिमाली समुदायको आवाज उठाउनु पनि कार्यक्रमको उद्देश्य थियो। दिगो उत्पादन, प्राकृतिक स्रोतको संरक्षण र पुस्तौंदेखि चलिआएको स्थानीय ज्ञानको महत्त्व उजागर गरिएको आयोजकले बताएको छ।
यसले बाजुरा र सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य तथा सम्पदा पर्यटनको सम्भावनालाई विश्वसामु चिनाउने अवसर सिर्जना गरेको आयोजकको भनाइ छ।
