काठमाडौं । सिंहदरबार परिसरमा शुक्रबार बिहान भएको एउटा सवारी ठक्करमा राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे लडेर घाइते हुनुभएको छ । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ अनुकूल निधीले चलाएको गाडीले उहाँलाई ठक्कर दिएको थियो । ठक्करपछि उहाँ भुइँमा लड्नुभएको थियो ।
घटनापछि गैरेलाई तत्काल जाँचका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उहाँसँगै गाडीमा सवार विज्ञ निधी पनि ट्रमा सेन्टर पुग्नुभएको छ । अस्पतालमा उहाँको स्वास्थ्य जाँच भइरहेको छ ।
गैरेले आफूलाई गम्भीर चोट नलागेको बताउनुभएको छ । लड्दा शरीर दुखेको उहाँको भनाइ छ । उहाँले चेकअप भइरहेको र गाडीमा सवार निधी पनि आफूसँगै रहेको जानकारी दिनुभएको छ । जाँच पूरा भएपछि मात्र स्वास्थ्य अवस्थाबारे थप विवरण आउने बताइएको छ ।
यो घटना २० कात्तिक, शुक्रबार बिहानको हो । सिंहदरबारजस्तो उच्च सुरक्षावाला क्षेत्रभित्रै यस्तो घटना भएपछि परिसरभित्रको सवारी आवागमनको व्यवस्थापनमाथि प्रश्न उठेको छ । मन्त्रालयबाट घटनाबारे औपचारिक धारणा आइसकेको छैन । अहिलेसम्म घटनाको कारणबारे केही खुलाइएको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
