वासिङ्टन — अमेरिकी विदेशमन्त्री मार्को रुबियोले डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासन छाड्ने तयारीमा रहेको भन्ने चर्चा गलत भएको बताएका छन्। मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको हारपछि उनी बाहिरिने तयारीमा रहेको समाचार सार्वजनिक भएका थिए। रुबियोले भने आफू राष्ट्रपतिको कार्यकाल सकिएसम्मै सरकारमा रहेर जिम्मेवारी पूरा गर्ने योजनामा रहेको स्पष्ट पारे।
बिहीबार द टाइम्ससँगको कुराकानीमा उनले ती समाचार कहाँबाट आए भन्नेमा आफू अचम्मित भएको बताए। यसअघि ब्लुमबर्ग न्युजले रुबियोले पद छाड्ने विषयमा ह्वाइट हाउसका अधिकारीसँग छलफल गरेको र उनलाई बस्न आग्रह गरिएको दाबी गरेको थियो।
अमेरिकी विदेश मन्त्रालयले पनि उक्त खबरको खण्डन गरेको छ। मन्त्रालयका सहायक सचिव डिलन जोनसनले ब्लुमबर्गको समाचारलाई पूर्ण रूपमा काल्पनिक भनेका छन्। रुबियोले सन् २०२८ मा राष्ट्रपतीय उम्मेदवारी दिने योजना बनाएको भन्ने अर्को चर्चालाई समेत आधारहीन भने।
राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारीसमेत सम्हालिरहेका रुबियोलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ। तर उनले आफ्नो राजनीतिक भविष्यबारे अहिले केही नबोल्ने बताएका छन्। मध्यावधि निर्वाचनअघि उनी ट्रम्पसँगै चुनावी अभियानमा सहभागी भएका थिए। यसअघि उनले आफू राष्ट्रपतिको उम्मेदवार बनेमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने बताएका थिए। भान्सलाई पनि सन् २०२८ का सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ।
