काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा रहेको एक सांसदको डेरामा चोरी भएको छ । दसैँको बिदाका बेला घरपरिवार जिल्ला गएको अवसर पारेर चोरहरूले सांसद उर्मिला थपलियाको डेराबाट सुन र नगद लगेका हुन् ।
थपलिया नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद हुन् । परिवारका सदस्यहरू दसैँ मनाउन जिल्ला गएका बेला उनको डेराबाट ८ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ । घटनाबारे कात्तिक ५ गते प्रहरीलाई जानकारी गराइएको थियो ।
चोरीमा संलग्न भएको आरोपमा प्रहरीले ३ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार नियन्त्रणमा लिइएकाहरूसँग सोधपुछ भइरहेको छ । प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।
उनीहरूलाई काठमाडौँ परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
यसैबीच कात्तिक ६ गते कलङ्कीमै रहेको नीरज नेपालको घरमा पनि चोरी भएको थियो । उक्त घरबाट १३९ तोला चाँदी, १ तोला सुन र १० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले बताएको छ ।
दुवै चोरीमा एउटै समूह संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
