ढाकाबाट प्राप्त विवरणअनुसार बङ्गलादेशमा डेङ्गुको प्रकोप तीव्र बन्दै गएको छ। आइतबार बिहानसम्मको पछिल्लो २४ घण्टामा मात्र २ हजार २४९ जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार अस्पताल पुग्ने बिरामीको यो दैनिक सङ्ख्या यस वर्षकै सर्वाधिक हो।
सोही अवधिमा थप सात जनाको ज्यान गएको छ। बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार बिहान ८ बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
यससँगै चालु वर्षमा डेङ्गुबाट बिरामी पर्नेहरूको कूल सङ्ख्या एक लाख २३ हजार ९४८ पुगेको छ भने मृतकको सङ्ख्या ३८४ पुगेको छ। महिनागत रूपमा हेर्दा अक्टोबरमा मात्र १३९ जनाको मृत्यु भएको छ। सेप्टेम्बरमा १४८, अगस्टमा ४३, जुलाईमा ३६ र जुनमा १३ जनाले ज्यान गुमाएका थिए।
सामान्यतया मनसुनसँगै देखिने यो रोग यसपालि जुन–सेप्टेम्बरको सीमाभन्दा बाहिर पनि फैलिरहेको छ, जसले स्वास्थ्य प्रणालीलाई थप चुनौती दिएको छ।
यसैबीच प्रधानमन्त्री तारिक रहमानले सम्बन्धित निकायलाई रोकथामसम्बन्धी जनचेतना फैलाउन र नियन्त्रणका काममा सरकारलाई सघाउन निर्देशन दिएका छन्।
