न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित क्याथोलिक चर्चको आर्कडायोसेसले आफ्ना पादरीबाट यौन दुर्व्यवहारमा परेका झन्डै एक हजार तीन सय जनालाई ८० करोड अमेरिकी डलरभन्दा बढी रकम क्षतिपूर्तिस्वरूप दिने सहमति गरेको छ। आर्कबिसप रोनाल्ड हिक्सले शनिबार पीडित र उनीहरूका कानुन व्यवसायीसँग यो समझदारी बनेको जानकारी दिएका हुन्। सम्झौतामा आगामी नोभेम्बर ६ मा औपचारिक रूपमा हस्ताक्षर हुने बताइएको छ।
यो अमेरिकी क्याथोलिक चर्चसँग जोडिएका यौन दुर्व्यवहारका मुद्दामध्ये दोस्रो ठूलो क्षतिपूर्ति सम्झौता हो। यसअघि सन् २०२४ मा लस एन्जलसको आर्कडायोसेसले पीडितलाई ८८ करोड डलर दिने सहमति गरेको थियो। द न्युयोर्क टाइम्सका अनुसार न्युयोर्क आर्कडायोसेसविरुद्ध उजुरी हालेका करिब एक हजार तीन सय पीडितमध्ये हरेकले कम्तीमा दुई लाख ५० हजार डलर पाउनेछन्। दुर्व्यवहारको गम्भीरताका आधारमा केहीले त्योभन्दा बढी रकम पनि पाउन सक्नेछन्।
आर्कबिसप हिक्सले पादरीहरूलाई पठाएको इमेलमा सम्झौताले पीडितलाई केही हदसम्म न्याय, उपचार र मेलमिलापको अवसर दिने आशा व्यक्त गरेका छन्। पीडितका तर्फबाट वकालत गर्दै आएका वकिल जेफ एन्डरसनले सम्झौतालाई न्यायको दिशामा महत्त्वपूर्ण उपलब्धि बताएका छन्। उनका अनुसार पीडितको साहस र दृढताले नै चर्चलाई विगतका घटनाप्रति जवाफदेही बनाउने प्रक्रिया अघि बढेको हो।
अमेरिकामा क्याथोलिक चर्चभित्र पादरीबाट हुने यौन दुर्व्यवहारको विवाद सन् २००० को दशकको सुरुदेखि नै चल्दै आएको छ। त्यसबेला सञ्चारमाध्यमको अनुसन्धानले दशकौँसम्म हजारौँ बालबालिका दुर्व्यवहारमा परेको तथ्य बाहिर ल्याएको थियो। गत जुनमा सान फ्रान्सिस्कोको आर्कडायोसेसले पनि करिब पाँच सय ३० पीडितलाई ३९ करोड ५० लाख डलर दिने सहमति गरेको थियो।
