भोलि सोमबार टर्कीको अन्ताल्यामा राष्ट्रसंघको ३१औँ जलवायु सम्मेलन कोप–३१ सुरु हुँदैछ। नोभेम्बर ९ देखि २० सम्म चल्ने सम्मेलनमा बढ्दो तापक्रम नियन्त्रण, जलवायु परिवर्तनको असर घटाउने उपाय र प्रभावित मुलुकलाई आर्थिक सहयोग जुटाउने विषयमा छलफल हुनेछ। तर अमेरिकी सरकारले भने यसपटक पनि आधिकारिक प्रतिनिधिमण्डल नपठाउने भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगातार दोस्रो वर्ष सम्मेलनमा आधिकारिक टोली नपठाउने निर्णय गरेको हो। गत वर्ष ब्राजिलमा भएको कोप–३० मा पनि अमेरिकी सरकारको आधिकारिक सहभागिता थिएन। ट्रम्पले दोस्रो कार्यकाल सुरु भएलगत्तै सन् २०१५ को पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए, जुन यसै वर्ष जनवरीमा औपचारिक रूपमा लागू भयो। गत जनवरी ७ मा उनले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिबाट समेत बाहिरिने निर्णय गरेका थिए, जुन सन् २०२७ मा लागू हुने बताइएको छ।
सरकार अनुपस्थित रहे पनि अमेरिकाका १९ जना सांसद भने सम्मेलनमा सहभागी हुने भएका छन्। समाचार संस्था एएफपीका अनुसार तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका ती सदस्य नोभेम्बर १४ देखि १६ सम्म अन्ताल्यामा रहनेछन्। इलिनोइसबाट निर्वाचित डेमोक्रेटिक सांसद सिन कास्टेनले नोभेम्बर ४ मा पत्रकार सम्मेलन गरी टोली टर्की जाने जानकारी दिएका थिए। भ्रमणको समन्वय सस्टेनेबल इनर्जी एन्ड इन्भाइरोन्मेन्ट कोअलिसन इन्स्टिच्युटले गरिरहेको छ। सांसदहरूको टोलीले विभिन्न देशका नीतिनिर्माता, नागरिक समाजका प्रतिनिधि, वातावरण अभियन्ता, व्यवसायी र विज्ञहरूसँग भेटघाट गर्नेछ।
यद्यपि सांसदहरू अमेरिकी सरकारको आधिकारिक वार्ता टोली होइनन्, त्यसैले उनीहरूको उपस्थितिले अमेरिकाका तर्फबाट कुनै अन्तर्राष्ट्रिय सम्झौता गर्ने वा नयाँ आर्थिक प्रतिबद्धता जनाउने अधिकार दिँदैन। यसले ट्रम्प प्रशासन र अमेरिकाभित्रका अन्य राजनीतिक तथा सामाजिक संस्थाहरूबीच जलवायु नीतिमा रहेको भिन्नता देखाएको छ। अमेरिकाको अनुपस्थितिले जलवायु संकट सामना गर्न आवश्यक अन्तर्राष्ट्रिय सहकार्य र आर्थिक सहयोग जुटाउने विषयमा प्रश्न उठेको छ। नेपालजस्ता उच्च जोखिममा रहेका विकासशील देशहरूले धनी तथा धेरै कार्बन उत्सर्जन गरेका मुलुकबाट पर्याप्त सहायता उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन्।
