नेपाली कांग्रेसको कोशी प्रदेश नेतृत्वका लागि प्रतिस्पर्धा खुला रूपमा सुरु भएको छ। केन्द्रीय महाधिवेशन सकिएलगत्तै प्रदेश र जिल्ला तहको नेतृत्व छानिने भएकाले आकांक्षी नेताहरूले अहिलेदेखि नै आफ्नो पक्षमा समर्थन जुटाउन थालेका छन्।
प्रदेश सभापतिको एउटै पदमा सात जनाको नाम चर्चामा छ। वर्तमान सभापति उद्धव थापा, उपसभापति रमेशजंग रायामाझी, मोरङ सभापति डिकबहादुर लिम्बू, प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, महामन्त्री उमेश थापा, सहमहामन्त्री खड्ग फागो र धनकुटा सभापति दिनेश राई सभापतिका दाबेदारका रूपमा देखिएका छन्।
अधिवेशनको मिति भने अझै तय भएको छैन। उपसभापति रायामाझीका अनुसार मंसिरको दोस्रो वा तेस्रो सातातिर अधिवेशन हुने सम्भावना छ।
वर्तमान सभापति थापाले पुनः नेतृत्वमा दोहोरिने वा नदोहोरिनेबारे अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन्। तर उनीनिकट नेताहरूका अनुसार उनी अर्को कार्यकाल पनि सभापतिको जिम्मेवारी सम्हाल्न चाहन्छन्।
उपसभापति रायामाझीले भने आफ्नो दाबीलाई स्वाभाविक भएको बताएका छन्। उपसभापतिका रूपमा जिम्मेवारी निर्वाह गरिसकेकाले अब प्रदेश पार्टीको नेतृत्व सम्हाल्न चाहेको उनको भनाइ छ। मोरङ कांग्रेसको नेतृत्वमा दुई कार्यकाल बिताएका डिकबहादुर लिम्बूले पनि आफ्नो दाबी अघि सारेका छन्। जिल्ला सभापतिका रूपमा थप कार्यकाल बिताउन नपाउने भएकाले प्रदेश नेतृत्व आफ्नो स्वाभाविक गन्तव्य भएको उनले बताएका छन्।
महामन्त्री उमेश थापाले साढे चार–पाँच वर्षदेखि महामन्त्रीका रूपमा काम गर्दै संगठन विस्तार गरेको र प्रदेश कार्यालयका लागि आफ्नै जग्गा किनेर भवन बनाएको दाबी गरेका छन्। सहमहामन्त्री खड्ग फागोले भने आफू लामो समयदेखि सभापतिको प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन्।
सभापतिको प्रतिस्पर्धासँगै दुई महामन्त्री पदका लागि पनि नेताहरूले तयारी अघि बढाएका छन्। वर्तमान सहमहामन्त्री विनोद बस्नेत, प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, पूर्वमन्त्री शमशेर राई, मदन संग्रौला र सुजेन्द्र तामाङ महामन्त्रीका आकांक्षीका रूपमा देखिएका छन्।
