काठमाडौं। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचरमा आधारित कारबाहीमा छ जना आतङ्कवादी र दुई सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।
सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपिआर) का अनुसार आतङ्कवादीको उपस्थितिबारे सूचना पाएपछि अक्टोबर २४ मा डेरा इस्माइल खान जिल्लामा कारबाही थालिएको थियो। आइतबार सार्वजनिक विज्ञप्तिमा प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का छ जना सदस्य मारिएको उल्लेख छ। गोली हानाहानका क्रममा दुई सैनिकले पनि ज्यान गुमाएका थिए।
कारबाहीका क्रममा हतियार र गोलाबारुदसमेत बरामद भएको सेनाले जनाएको छ। मारिएका व्यक्तिहरू सुरक्षा बल तथा कानून कार्यान्वयन निकायमाथि आक्रमण गर्नुका साथै सर्वसाधारणमाथि हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ।
क्षेत्रमा रहेका अन्य आतङ्कवादीलाई खोजी गरी निष्क्रिय पार्न सुरक्षा बलले थप अभियान चलाइरहेको आइएसपिआरले जनाएको छ।
