धादिङ, २५ कात्तिक — पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिकाको बेल्खु क्षेत्रमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।
हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८४१८ नम्बरको ट्याङ्करले सडकमा हिँडिरहेका गजुरी गाउँपालिका–६ का ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–४ का ३३ वर्षीय मदनबहादुर तामाङ रहेको प्रहरीले बताएको छ।
दुर्घटनापछि मृतकको शव सडकमै रहेकाले राजमार्गको एकतर्फी सवारी आवागमन रोकिएको थियो। प्रहरीले विभिन्न कार्यालयबाट ३१ जना सुरक्षाकर्मी खटाएर घटनास्थलमा सुरक्षा व्यवस्था मिलाएको थियो।
प्रहरीका अनुसार राति ११ बजेर १५ मिनेटमा शव उठाएपछि राजमार्गमा दुईतर्फी सवारी सञ्चालनमा आएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
