म्याग्दी । बाढीपहिरोले मुख्य पाइपलाइन भत्किएपछि डेढ महिनादेखि खानेपानीबाट वञ्चित बनेको बेनी बजारमा आपूर्ति पुनः सुरु भएको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ का रिठाखर्क र डाँडाखर्कका मुहानबाट अस्थायी पाइपलाइन जडान गरेर पानी पठाउन थालेको हो ।
करिब १४ किलोमिटर लामो मुख्य पाइपलाइन मर्मत सम्पन्न भएपछि मंगलबार साँझ गरिएको परीक्षण सफल भएको संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिए । परीक्षणका क्रममा प्रतिसेकेन्ड आठ लिटरका दरले पानी आपूर्ति गर्न सकिने देखिएको छ ।
राहुपारे–गलेश्वर र डल्लेपिपल–बेनी खण्डमा अस्थायी तथा वैकल्पिक पाइपलाइन बिछ्याइएको छ । बेनीको खोरिया र खरेनी क्षेत्रमा पहिरो जान थालेपछि पाइपलाइनको बाटो बदल्नुपरेको थियो । त्यस क्रममा डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको अध्यक्ष गिरीले बताए ।
विपद्पछि कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, अम्रेनीबाट तीन दशमलव चार लिटर र राहुपारेबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिँदै आएको थियो । वैकल्पिक मुहान सुक्न थालेपछि संस्थाले पुनः रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गर्न थालेको छ ।
संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारलाई प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी चाहिन्छ । संस्थाले बेनी नगरपालिकाका वडा नम्बर २, ७ र ८ का एक हजार २०० घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसंख्यालाई पानी वितरण गर्दै आएको छ ।
रिठाखर्क र डाँडाखर्कका मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति गर्न सकिन्छ । विपद्पछि ती मुहानबाट पानी ल्याउने पाइपलाइन अवरुद्ध भएपछि बेनी–जोमसोम सडकको छेउछाउ अस्थायी पाइपलाइन विस्तार गरी तिहारअघि राहुपारेबाट पानी ल्याउने तयारी गरिएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले बताए ।
बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि १४ करोड ७० लाख रुपैयाँ र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने लागत अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ ।
