नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा आइतबार इजरायलले गाजामा जारी राखेको सैन्य कारबाहीको विरोधमा दुई लाखभन्दा बढी मानिस सडकमा ओर्लिएका छन्। ‘रेड लाइन’ नाम दिइएको यो प्रदर्शन एम्नेस्टी इन्टरनेसनलको नेदरल्यान्ड्स शाखाले आयोजना गरेको हो।
सहभागीहरूले इजरायलसँगको व्यापारिक सम्बन्धमा कडाइ गर्न, हतियार बिक्री पूर्ण रूपमा बन्द गर्न र गाजामा भइरहेको हिंसा रोक्न ठोस पहल गर्न आफ्नो सरकारसँग माग गरे। प्रदर्शनमा सहभागी अधिकांशले रातो पहिरन लगाएका थिए। उनीहरूले इजरायलमाथि प्रतिबन्ध लगाउन तथा आर्थिक र सैन्य सम्बन्ध अन्त्य गर्न समेत आग्रह गरे।
प्रदर्शनका क्रममा सहरको सामान्यतया व्यस्त रहने एउटा सडक सवारीसाधनका लागि बन्द गरिएको थियो। बस बिसौनीमा उभिएका एक व्यक्तिले लाउडस्पिकरबाट ‘प्यालेस्टाइनलाई स्वतन्त्र गर’ भन्ने नारा लगाउँदा हजारौँ सहभागीले त्यसलाई दोहोर्याए। प्रदर्शनकारीहरू म्युजियम स्क्वायरमा समेत ठूलो संख्यामा भेला भएका थिए।
सन् २०२३ को अक्टोबरदेखि गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा ७४ हजार प्यालेस्टिनीको ज्यान गएको छ, जसमध्ये २१ हजार बालबालिका छन्। गत वर्ष अक्टोबर १० मा युद्धविराम लागू भए पनि त्यसयता पनि आक्रमण जारी रहेको बताइएको छ।
यसैबीच गाजाको युद्धका कारण नेदरल्यान्ड्स र इजरायलबीचको सम्बन्धमा तनाव बढेको छ। गत वर्ष इजरायलमाथि नयाँ प्रतिबन्ध लगाउने प्रयास असफल भएपछि नेदरल्यान्ड्सका विदेशमन्त्रीले राजीनामा दिएका थिए। गत फेब्रुअरीमा गठन भएको अल्पमत गठबन्धन सरकारले कब्जा गरिएका क्षेत्रका बस्तीबाट उत्पादित वस्तुको आयातमा रोक लगाएको छ। प्रधानमन्त्री रोब येटेनले शुक्रबार सरकारले हरेक दिन सम्भव प्रयास गरिरहेको बताए पनि आइतबारको विशाल प्रदर्शनले नागरिक असन्तुष्टि कायमै रहेको देखाएको छ।
