४ कात्तिक, काठमाडौं । इङ्ल्यान्डका स्टार फिल फोडेनले च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै म्यानचेस्टर सिटीलाई एईके एथेन्सविरुद्ध ५–१ को फराकिलो जित दिलाएका छन् । मंगलबार राति भएको लिग चरणको खेलमा फोडेनले तीन गोल गरेर ह्याट्रिक पूरा गरे ।
घरेलु मैदानमा सिटीले १२औं मिनेटमै इलियट एन्डरसनको गोलबाट अग्रता लिएको थियो । ३४औं मिनेटमा रिको लुइसको पासमा फोडेनले जाली चुमेपछि सिटी २–० ले अघि रह्यो । दोस्रो हाफको ५२औं मिनेटमा स्टाभ्रोस पिलियोसले एथेन्सका लागि गोल फर्काए, तर पाँच मिनेटपछि फोडेनकै पासमा रायन चेर्कीले गोल गर्दै सिटीको अग्रता फेरि बढाए ।
फोडेनले ६५औं मिनेटमा लुइसकै पासमा व्यक्तिगत दोस्रो गोल गरे भने ७६औं मिनेटमा नजिकको दूरीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको यसै प्रदर्शनको बलमा सिटीले खेल ५–१ ले जित्यो ।
गत साता पेरिस सेन्ट जर्मेनसँग ४–२ ले पराजित भएको सिटीले यस जितसँगै च्याम्पियन्स लिगमा पुनरागमन गरेको छ । जितपछि सिटी तीन खेलबाट ६ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ, भने ३ अंक बटुलेको एथेन्स २७औं स्थानमा छ ।
