दीपावलीको उज्यालो सकिएसँगै मधेस प्रदेशभर छठ पर्वको रौनक छाउन थालेको छ। जिल्लाजिल्लामा पर्वको तयारी तीव्र गतिमा अघि बढिरहेको छ भने प्रदेश राजधानी जनकपुरधामका पोखरी र तलाउहरू सफा गरेर सिँगार्ने काम सुरु भइसकेको छ। बजारमा छठ पूजाका लागि चाहिने सामग्री किन्नेहरूको भिड पनि दिनदिनै बढ्दै गएको छ।
मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग गाँसिएको छठलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारी भइरहेको छ। जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका जलाशयको सरसफाइ भइरहेको छ। विशेष गरी गङ्गासागर र धनुषसागरमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा सरसफाइ र सिँगार्ने कामलाई तीव्रता दिइएको छ।
यस वर्ष छठ हेर्न प्रधानमन्त्री वालेन्द्र शाह समेत जनकपुरधाम आउने तयारी भएकाले गङ्गासागर छठ घाटलाई थप व्यवस्थित र आकर्षक बनाउने काम भइरहेको साहले बताए।
उता जनकपुरधामको पेठिया बजारसहित गाउँघरका हाट र मेलामा छठ पूजाका सामग्री र बाँसबाट बनेका सामान किन्नेहरूको चहलपहल बढेको छ। स्थानीय सुमित्रादेवी कर्णका अनुसार पर्व नजिकिँदै जाँदा आवश्यक सामग्रीको किनमेल सुरु भइसकेको छ।
पर्व नजिकिँदै गर्दा पुस्तौँदेखि बाँसको काम गर्दै आएका डोम समुदाय पनि अहिले निकै व्यस्त छन्। उनीहरूले बाँसका चोयाबाट छिटी, नाङ्लो र ढाकीजस्ता पूजासामग्री राख्ने भाँडा बनाउँदै आएका छन्। परम्परागत सामग्रीको माग बढेसँगै स्थानीय कारीगरको उत्पादनले बजार पाएको छ।
