डिजिटल प्लेटफर्म टिकटकको माध्यमबाट नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सात देशका चर्चित ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन्। नेपाल पर्यटन बोर्ड र टिकटकको संयुक्त सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, बङ्गलादेश र श्रीलङ्काका सामग्री निर्माताहरू नेपाल आएका हुन्।
उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, मौलिक कला-संस्कृति, साहसिक गतिविधि र विशिष्ट पर्यटकीय अनुभवलाई समेटेर भिडियो सामग्री तयार पार्नेछन्। उक्त भिडियो टिकटकलगायत सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ पुर्याइनेछ। टोलीले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछ र ती गन्तव्यका आकर्षण, स्थानीय जनजीवन, संस्कृति र प्रकृति समेटिएका सामग्री निर्माण गर्नेछ।
फ्लाई दुबईको उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका विदेशी कन्टेन्ट क्रिएटरहरूलाई पर्यटन बोर्ड र स्थानीय पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन्। नेपाल पर्यटन बोर्ड र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सोही सहकार्य अनुसार सुरु गरिएको लाइफ टाइम एक्सपिरियन्स अभियानले नेपालको हिमाल, सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ।
भ्रमण तालिकाअनुसार बङ्गलादेशका अनिवार्न कासेर, श्रीलङ्काका कसुन सम्पथ देगोडा मागागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा यूएईका मोहम्मद नाबिलले पोखरा र वरपरका आकर्षणमा आधारित सामग्री बनाउनेछन्। फ्रान्सका जेरेमी ब्युदेटले चितवनको वन्यजन्तु, राष्ट्रिय निकुञ्ज र थारू संस्कृति क्यामरामा कैद गर्नेछन् भने पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्यु लिले बर्दियाको प्रकृति, वन्यजन्तु र समुदायमा आधारित पर्यटनका सम्भावना पस्कनेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले सरकारले पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमलाई उच्च प्राथमिकता दिएको बताएका छन्। यो अभियानले नेपाली पर्यटनको अन्तर्राष्ट्रिय पहुँच थप विस्तार गर्ने अपेक्षा उनले राखेका छन्।
