रेडियो, टेलिभिजन र ठूलो पर्दामा छाएकी कलाकार दीपाश्री निरौला अब फिल्म ‘पाँच पाण्डव’मा फरक भूमिकामा देखिने भएकी छन् । कलाकार मात्र नभई निर्माता र ब्लकबस्टर फिल्मकी निर्देशकसमेत रहेकी उनी यसपटक भीमकी श्रीमतीको भूमिकामा अभिनय गर्दैछिन् ।
फिल्ममा भीमको भूमिका जितु नेपालले निर्वाह गरेका छन् भने दीपाश्री उनकै श्रीमती ‘सितर्नी’को चरित्रमा छिन् । यो चरित्र जुझारु र लडाकु स्वभावको छ । मजदुरका रूपमा काम गर्ने उनको पात्रले कसैमाथि अन्याय भएको देख्यो भने तत्काल प्रतिकार गर्छ । श्रीमान्लाई सुरक्षा दिने र उनको पक्षमा उभिने चरित्र भएकाले यो भूमिका आफ्ना लागि नयाँ अनुभव भएको दीपाश्रीले बताएकी छन् ।
फिल्मको नामले नै आफूलाई आकर्षित गरेको उनको भनाइ छ । महाभारत र रामायण हेरेर हुर्किएकाले ‘पाँच पाण्डव’ सुन्नासाथ बाल्यकालका दिनहरू याद आएको र त्यसैले फिल्ममा काम गर्ने निर्णय गरेको उनले सुनाइन् । तर, आफूलाई धार्मिक पात्रकै रूपमा प्रस्तुत नगरिएको उनले स्पष्ट पारिन् । इँटाभट्टामा काम गर्ने उनको चरित्रले कसैले हस्तक्षेप गर्न खोजे तत्काल जवाफ दिन्छ ।
डबिङका क्रममा आफ्नो चरित्र हेरिसकेकी दीपाश्री आफ्नो प्रवेश हुने दृश्य निकै धमाकेदार रहेको बताउँछिन् । उनको प्रवेश हुनेबित्तिकै हलमा सिठी, ताली र हुटिङ आउने आफूलाई लागेको उनको भनाइ छ । दर्शकले यस्तो जुझारु महिला पात्रसँग आफूलाई जोड्ने विश्वास उनले व्यक्त गरिन् ।
आफ्नो चरित्रको नाम ‘सितर्नी’ रहेको उनले बताइन् । फिल्ममा अरूलाई गाली गर्दा पनि उनी ‘सितर्नी’ शब्द प्रयोग गर्छिन्, र यो शब्द दर्शकको मुखमा झुण्डिने आफूलाई लागेको उनले सुनाइन् ।
