काठमाडौं । नेपालको वैदेशिक व्यापार अहिले २८ वटा भन्सार विन्दुबाट भइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत समेटिएको यो सूचीमा वीरगञ्ज नाका एक्लैले आधा भार बोकेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) मा कुल ६ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। त्यसमा वीरगञ्ज नाकाबाट मात्र ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ, अर्थात् ४८.३० प्रतिशत वस्तु भित्रिएको छ। पेट्रोलियम पदार्थको ठूलो हिस्सा यही नाकाबाट आउने गरेको छ।
निर्यातमा पनि वीरगञ्जको हिस्सा ठूलो छ। सो अवधिमा कुल १ खर्ब १४ अर्ब रुपैयाँको वस्तु निर्यात हुँदा वीरगञ्जबाट ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको सामान बाहिरिएको छ।
आयातमा वीरगञ्जपछि भैरहवा दोस्रो व्यस्त नाका बनेको छ। भैरहवाबाट ९८ अर्ब ८१ करोड रुपैयाँ (१५.२८ प्रतिशत) र विराटनगरबाट ७८ अर्ब ३३ करोड रुपैयाँ (१२.११ प्रतिशत) को वस्तु आयात भएको छ। त्रिभुवन विमानस्थलबाट ५१ अर्ब ६२ करोड रुपैयाँ (७.९८ प्रतिशत) को सामान भित्रिएको छ।
यता १० भदौको बाढीले नेपाल–चीन व्यापार मुस्ताङ नाकामा सीमित बनेको छ। कालीगण्डकीको बाढीले त्यो नाका समेत प्रभावित भएपछि व्यापार भारततर्फका नाकामा केन्द्रित भएको छ। रसुवागढी नाकामा बाढीको असरपछि चोभारको सुक्खा बन्दरगाहको चहलपहल घटेको छ र तीन महिनामा त्यहाँबाट ४ अर्ब १४ करोड रुपैयाँको मात्र आयात भएको छ।
