काठमाडौँ — अस्पतालको सेवा विस्तार मात्र होइन, बिरामीको सुरक्षा र उपचारको गुणस्तरलाई केन्द्रमा राख्ने लक्ष्यसहित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आयोजनामा तीन दिने राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ।
बुढानीलकण्ठस्थित पार्क भिलेज होटल एन्ड रिसोर्टमा २०८३ कात्तिक १४ देखि १६ गतेसम्म चलेको कार्यशालामा देशभरका २६ वटा मेडिकल कलेज तथा अस्पतालका ६४ जना प्रतिनिधि सहभागी भएका थिए। स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा बिरामी सुरक्षा विषयमा केन्द्रित कार्यक्रममा भारतको भेलोर र बङ्गलादेशका विज्ञहरूले पनि आफ्ना अनुभव र असल अभ्यासहरू साझा गरेका थिए।
कार्यशालाको मूल उद्देश्य उपचारका क्रममा हुन सक्ने रोकथामयोग्य गल्ती र जोखिम घटाउँदै बिरामीको सुरक्षा सुनिश्चित गर्नु रहेको छ। हाल अस्पताल र पूर्वाधारको सङ्ख्या बढाउनेतर्फ बढी ध्यान दिइएको भए पनि प्रत्येक नागरिकले सुरक्षित, प्रभावकारी र सम्मानजनक उपचार पाउनु उत्तिकै जरुरी रहेको सहभागीहरूको भनाइ थियो।
गुणस्तरीय स्वास्थ्य सेवा रोगको उपचारमा मात्र सीमित नभई उपचारका क्रममा हुन सक्ने सम्भावित हानिबाट बिरामीलाई जोगाउनु पनि हो। बिरामी सुरक्षालाई स्वास्थ्य सेवाको अभिन्न अङ्गका रूपमा स्थापित गर्दै संस्थागत जबाफदेहिता र गुणस्तरको संस्कृति विकास गर्न यस्ता कार्यक्रमले ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुभाषप्रसाद आचार्यको पहलमा सुरु भएको यो राष्ट्रिय प्रयास अस्पतालका सहायक निर्देशक एवं गुणस्तर सुधार तथा बिरामी सुरक्षा इकाईका प्रमुख प्रा.डा. पवनराज चालिसेको नेतृत्व र समन्वयमा सम्पन्न भएको हो। आयोजकहरूले यो अभ्यासले नेपाली स्वास्थ्य क्षेत्रलाई सुरक्षित, भरपर्दो र बिरामीमैत्री सेवाको नयाँ चरणमा लैजाने अपेक्षा गरेका छन्।
