काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । उनको उपचार गरिरहेको इलाम अस्पतालले अवस्था गम्भीर भएको भन्दै थप उपचारका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय, विराटनगरमा सिफारिस गरेको छ ।
अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य क्रमशः बिग्रिँदै गएको र ज्यान नै जोखिममा पर्न सक्ने अवस्था देखिएकाले थप पहल तथा विशेष उपचारको व्यवस्था मिलाउन आग्रह गरेको हो । सत्याग्रहको तेस्रो दिन स्वास्थ्य बिग्रिएपछि उनलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो ।
टाइप २ मधुमेहका बिरामी डा. केसीको रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको परीक्षणमा देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालले उनको गम्भीरतालाई ध्यानमा राख्दै तुरुन्तै आवश्यक प्रबन्ध मिलाउन सम्बन्धित निकायसँग अनुरोध गरेको छ । डा. केसी अहिले इलाम अस्पतालमा उपचाररत छन् ।
