काठमाडौंको नयाँ बानेश्वरस्थित एउटा फलफूल पसलमा अनार किन्न पुगेकी कोटेश्वरकी जुनु अधिकारी मूल्य सुनेर छक्क परिन् । ठूला दानाको अनार प्रतिकिलो ५ सय ५० रुपैयाँ र सानाको ५ सय ३० रुपैयाँ भनियो । केही समयअघिसम्म ३ सय ५० देखि ४ सय रुपैयाँमा पाइने अनार अहिले उनको पहुँचबाहिर पुगेको छ ।
बानेश्वरका व्यापारी शैलेस गुप्ताका अनुसार पछिल्ला करिब दुई महिनामा फलफूलको मूल्य छोइनसक्नु भएको छ । नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले ढुवानी खर्च नै मूल्यवृद्धिको मुख्य कारण भएको बताए । उनका अनुसार केरुङ वा तातोपानी नाकाबाट ५० हजारदेखि १ लाख रुपैयाँमा आउने गाडीलाई अहिले कोरला नाकाबाट ल्याउँदा ४ लाख रुपैयाँसम्म तिर्नुपर्छ, जसले प्रतिकिलो ४० रुपैयाँ लागत थपिएको छ । पानीजहाजबाट आउने एउटा कन्टेनरको भाडा २ हजार ५ सय डलरबाट बढेर ७ हजार ५ सय डलर पुगेको छ ।
कालीमाटी बजारको तथ्यांकले पनि महँगी पुष्टि गर्छ । गत वर्षको तुलनामा मौसमको थोक मूल्य ८४ प्रतिशत बढेर प्रतिकिलो १ सय ७५ रुपैयाँ पुगेको छ । अम्बा ६६ प्रतिशत र सुन्तला ४० प्रतिशत महँगिएर दुवै १ सय ७५ रुपैयाँ पुगेका छन् । चिनियाँ नास्पाती ३२ प्रतिशत बढेर २ सय ७५ र फुजी स्याउ १४ प्रतिशत बढेर ३ सय २५ रुपैयाँ पुगेको छ । अनारको थोक औसत मूल्य भने ३ सय २५ रुपैयाँमै स्थिर छ,
भन्सार विभागको तथ्यांकअनुसार असोजमा मात्र १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको स्याउ नेपाल भित्रियो, जुन कीर्तिमानी आयात हो । बानियाँले खुद्रा व्यापारीले २० देखि २५ प्रतिशत मात्र मार्जिन राख्नुपर्ने बताउँदै उपभोक्तालाई एउटै पसलमा मात्र नकिनी मोलमोलाइ गरेर किन्न आग्रह गरेका छन् ।
