नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल ३५ रन बनाएर आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भइरहेको खेलमा लक्ष्य पछ्याइरहेको पोखराले तेस्रो विकेट गुमाएको हो।
खेलको ६ ओभर ३ बलमा ललित राजवंशीको बलमा अभिषेक तिवारीले भुर्तेलको क्याच समाते। भुर्तेलले २४ बल खेल्दै ३५ रन जोडेका थिए। उनी आउट हुँदा पोखराको स्कोर ५३ रन थियो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो। जनकपुरका लागि तृतराज दासले ६१ रनको योगदान दिए। ५५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे। अभिषेक तिवारीले १० बलमा २४ रन र मोइन अलीले १६ बलमा २१ रन बनाए।
बलिङतर्फ पोखराका बंगलादेशी अलराउन्डर शाकिब अल हसनले एक्लै ३ विकेट लिए। चमिका करुणारत्नेले दुई विकेट लिँदा कप्तान कुशल भुर्तेल र मोहम्मद सैफुद्दिनले समान एक विकेट लिए।
लिगमा जनकपुर पाचौँ स्थानमा रहेको छ। दुई खेलमध्ये एकमा जित हासिल गरेको जनकपुरको २ अंक छ। जनकपुरले कर्णाली याक्ससँग १९ रनको पराजय व्यहोरेको थियो भने दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको थियो।
यता, आफूले खेलेको एकमात्र खेलमा पराजित पोखरा भने अंक तालिकाको पुछारमा रहेको छ। सुदूरपश्चिम रोयल्ससँग पोखरा ६ विकेटले पराजित भएको थियो।
